23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS
शुक्रबार, १९ चैत, २०७२

११ वर्ष अध्यापनमा बिताएका प्रिन्सिपल भन्छन्, ‘पाठ्यक्रम बनाउँछौं तर स्रोतलाई ख्याल गर्दैनौं’

 ११ वर्ष अध्यापनमा बिताएका प्रिन्सिपल भन्छन्, ‘पाठ्यक्रम बनाउँछौं तर स्रोतलाई ख्याल गर्दैनौं’

ध्रुबप्रसाद पोखरेल भ्याली भ्यू स्कुलका प्रिन्सिपल हुन् । झण्डै ११ वर्षदेखि शिक्षण पेशमा रहेका पोखरेलले नेतृत्व गरिरहेको स्कुल भ्याली भ्यूले गत वर्ष एसएसली परिक्षामा नेपाल टप गरेको थियो । लामो समय प्राथमिक, निम्न माध्यमिक र माध्यमिकस्तरको शिक्षालाई नजिकबाट नियालिरहेका पोखरेलसँग वर्तमान शैक्षिक प्रणाली, पाठ्यक्रमलगायतका यावत विषयमा एजुकेशन समाचारले गरेको कुराकानीः

स्कुल शिक्षालाई कसरी हेर्नु हुन्छ ?
स्कुलिङस्तरको शिक्षालाई फाउण्डेशनका रुपमा लिइन्छ । भोलिको उच्च शिक्षाको आधारका रुपमा पनि माध्यमिक शिक्षा रहेको छ । वास्तवममा धेरै मान्छेले माध्यमिक शिक्षालाई सहज रुपमा लिइरहेका छन् । तर, उच्च शिक्षाको आधार भनेकै माध्यमिक शिक्षा हो ।


नेपालको सन्दर्भमा माध्यमिक शिक्षालाई कसरी हेर्न सकिन्छ ?
नेपालको सन्दर्भमा धेरै प्रकारले माध्यमिक शिक्षालाई हेर्ने गरेको पाइन्छ । देशका सबै ठाउँमा अहिले पनि उच्च शिक्षा पुग्न सकेको छैन । सबै ठाउँमा पुगेको शिक्षा भनेको माध्यमिक शिक्षा हो । यसलाई अझ ब्यवस्थित गरेर लाने हो भने नेपालको सन्दर्भमा सहरमा भन्दा पनि बाहिर राम्रो चेतना जगाउनुपर्छ । त्यसैले नेपालको सन्दर्भमा माध्यमिक शिक्षालाई उपलब्धिमूलक मान्नुपर्छ ।


गाउँ र शहरको शिक्षामा त ठूलो खाडल देखिन्छ नि ?

पाठ्यक्रम सबैतिर एउटै हो । जुम्ला पढ्ने पाठ्यक्रम र काठमाडौंमा पढाइहुने पाठ्यक्रम दुवै एउटै हो । यसलाई कसरी दिन सक्छौ भन्ने कुरा मात्र फरक हो ।


काठमाडौंका बोर्डिङ र नीजि विद्यालयहरुमा जसरी शिक्षा दिन सक्छौं । त्यसैगरी विकट ठाउँहरुमा पनि त्यस्तै किसिमको शिक्षा कसरी दिन सकिन्छ ?
धेरै खाडल यसमा म देख्दिनँ । नेपाल सरकारले यत्रो लगानी गरेको छ । विभिन्न लेभलका शिक्षकहरुको आपूर्ति गरेको छ । आखिर उहाँहरुले पढाउने जुन लेभल हो र यहाँको शिक्षाको लेभल त उस्तै उस्तै हो । तर, त्यही कुरालाई डेलिभर कसरी गर्ने भन्ने कुरामात्र फरक हो । पाठ्यक्रम पनि त्यही हो, समय पनि त्यही हो । एसएलसीकै कुरा गर्नुस् नेपालभरि एकै समयमा जाँच हुन्छ, एकै समयमा शैशिक सत्र सुरु हुन्छ । समयलाई कसरी सदुपयोग गर्ने भन्ने हो । प्राइभेटले अलि बढी समय सदुपयोग गरेका छन् भने अरुले त्यसलाई नगरेर खाडल देखिएको हो ।


विद्यार्थी उत्पादनका हिसाबले तपाईंको स्कुल टप हुने अनि जुम्ला, हुम्लाजस्ता विकट ठाउँका विद्यालयहरु निल हुने अवस्था पनि त छ नि ?

हामीले विशेषगरी विद्यार्थीमा के कस्तो प्रतिभा छ भनेर हेर्छौ । हामीले विद्यार्थीलाई समय दिएर त्यो केलाइहेका हुन्छौं, लगानी गर्छौ । पहिलेको पोर्टफोलियो हेर्ने हो भने सरकारी स्कुलबाटैं उच्च रिजल्ट आएको पाइन्छ । त्यो अहिले किन भएन भन्दा नीजि स्कुलले विद्यार्थीहरुको प्रतिभालाई केलाएर समयअनुसारको शिक्षा दिन सके, सरकारीले सकेनन् ।


भनेपछि सरकारी र सामुदायिक विद्यालयहरुले विद्यार्थीको प्रतिभा निखार्नेतिर ध्यान दिएनन् ?
निर्खानका लागि समय दिनुपर्छ । विद्यार्थीको सम्भावना चिन्न नसकेर नै अहिले खाडल देखिएको हो जस्तो लाग्छ ।


ग्रेडिङ सिष्टम पनि लागु हुँदैछ । कसरी हेर्नुभएको छ ?
ग्रेडिङ त अन्तर्राष्टिय मान्यता प्राप्त शैक्षिक प्रणालीको मुल्यांकन पद्धति हो । यसलाई नराम्रो भन्न मिल्दैन । अहिले दिनदिनै फरक भर्सनहरु आइरहेकाले ग्रेडिङ भनेको के हो भन्ने कुरामा हामी नै दोधारमा छौं । किनभने कहिले तीन वटा विषयमा राम्रो ल्यायो भने सबैमा राम्रो भन्छन्, कहिले सबैमा राम्रो ल्याउनुपर्ने कुरा आउँछ । ग्रेडिङमा पनि के हुन्छ भने कुनै विषयमा ९० ल्याउने भनियो तर केही विषय यस्ता हुन्छन्, जसमा ९० आउँदैं आउदैन । जस्तो सोसल । त्यसलाई कसरी ग्रेडिङ गर्ने ? ९० भन्दा तल सोसलमा आयो भने त्यसलाई कसरी ग्रेडिङ गर्ने ? ग्रेड बी दिने त्यसलाई ? त्यसैले यस्ता कुराहरुलाई अलि प्रष्ट पारेर, विषयहरुको मर्मलाई बुझेर ग्रेडिङ गरियो भने यो प्रणाली राम्रो हो । तर, यसमा विद्यार्थीको प्रतिस्पर्धा विस्तारै कम हुने देखिन्छ । किनभने, ८९ आउनेको पनि ए आयो ८० आउनेको पनि ए नै । लाष्ट एयर दिक्षित पौडेलले ९४ ल्यायो, त्यही कारणले हामीले नेपालभरिकै उच्च रिजल्ट भनेर प्रचार गर्यौं । त्यसैले ग्रेडिङ सिष्टम प्रष्ट रुपमा ल्याउनुपर्छ ।


माध्यमिक शिक्षाका सम्भावना कस्तो छ ?
शिक्षाले सर्वाङगीण विकास गर्नुपर्छ भन्ने हो । हाम्रो मोटो नै एजुकेशन फर पर्सानिलिटी डेभपलमेण्ट छ । त्यसैले अहिलेको समयमा ज्ञानलाई दैनिक ब्यवहारमा कसरी ल्याउने भन्ने कुरा अबको शिक्षाको पहिलो उद्देश्य हुनुपर्छ । यसका लागि कन्टेन्ट, कन्टेष्ट र कल्चर आवश्यक हुन्छ । हामीले सिक्नुपर्छ, बुझ्नुपर्छ र लागु गर्नुपर्छ भन्ने कुरा विद्यार्थीमा अनुभूत गराउन सक्नुपर्छ । जसले एजुकेशन सार्थक हुन्छ । अहिले संसारभर चलेको एजुकेशन मोडल कुन भन्दा सिंगापुर मोडल भनेर आइसक्यो । सिंगापुर मोडलमा एजुकेशन भनेको ज्ञान मात्र ट्रान्सफर गर्ने होइन्, एजुकेशन भनेको दिनप्रतिदिन त्यसलाई सदुपयोग गरेर आफूलाई सेल्फ डिपेन्डेन्ट बनाउन सक्छौं । सबै कुरामा स्वालम्बी बन्न सक्ने नै शिक्षा हो भन्ने कुरा सिंगापुर मोडलले अगाडि सारेको छ । त्यसैले उसको पाठ्यक्रम अमेरिकामा लागु भइसक्यो । हाम्रै देशमा पनि विभिन्न मानिसहरु त्यहाँ गएर अध्ययन गरेर त्यस्तो एजुकेशन आवश्यक रहेछ भन्नेमा पुगेका छन् ।
स्कुलिङमा बेस बलियो बनाउनुपर्ने, विद्यार्थीलाई सबै कुरा सिकाउनुपर्ने जस्ता कारण च्यालेजिङ छ तर गाह्रो छैन । अभिभावक र शिक्षकले मान्ने लेभल भएकाले त्यसकारण गाह्रो छैन । चुनौती कन्टेन्टलाई पिलर बनाएर अगाडि बढाउँदैं गयो भने सबै राम्रो हुन्छ ।


कोर्स कन्टेन्टहरु ब्यवहारिक भएनन् भन्ने कुरा पनि उठ्छ नि ?
कोर्स कन्टेन्ट त्यो एउटा गाइडलाइन हो । हाम्रा बच्चाहरुलाई कति कुरा सिकाउने भन्ने आधार हो । त्यसलाई ब्यवहारिक बनाउने भन्ने कुरा त सिकाउने मान्छे र स्कुलको पोलिसीमा निर्भर हुन्छ । पाठ्यक्रम र यो लेभलमा बच्चाले यति सिक्ने भनेर बनाइएको हो । सबै कुरा पाठ्यक्रमले नै निर्धारण गरयो भने अरुले के गर्ने त ?


अहिलेको पाठ्यक्रमलाई अलि ब्यवहारिक र वैज्ञानिक बनाएर लैजान सकिदैन ?
अहिले एउटा ओबिटी भन्ने नयाँ विषयमा आएको छ । जुन कक्षा ६ देखि ८ सम्म लागु भएको छ । त्यो धेरै हिसाबमा ब्यवहारिक छ, यसको ५० प्रतिशत थ्योरी र ५० प्रतिशत प्रयाक्टीकल छ । त्यस्तै प्राविधिक शिक्षा भनेर ९ देखि १२ सम्म लागु गर्ने भनिएको छ । त्यो सम्भावना भित्र छ, तर त्यसलाई लागु गरेर लैजाने क्षमता कति छ भन्ने हो । लागु गर्नका लागि स्रोतहरुको पनि पूर्ति गर्नुपर्ने हुन्छ । हामी के मा फेल छौं भने पाठ्यक्रम बनाउँछौं तर स्रोतलाई ख्याल नगरी बनाउँछौं । स्रोत नहेरी पाठ्यक्रम बनाउने कुरा गाह्रो कुरा हो । हस्पिटल नै छैन भने स्कुलमा मेडिसिन पढाएर के गर्ने ? हस्पिटल छ भने मेडिसिन पढाउनुस्, त्यो ब्यवहारमा लैजान सहज हुन्छ ।


अहिले शिक्षामा देखिएका विविध र फरक प्रयोगले शिक्षामा कत्तिको असर पार्छ ?
मन्टेश्वरी थिम्याटीक प्रयाक्टीस हो, यो कुनै नयाँ होइन । यसलाई लर्निड बाइ डुइड भन्छ त्यसैले विद्यार्थीलाई बुझ्न सजिलो हुन्छ । यो भनेको कुनै नयाँ होइन । सिकाइ भनेको पूरानै हो त्यसमा म्याटिएल्सको बढी हुन्छ, त्यसैले यो सफल भइरहेको हो । म्याटिएल्सले विद्यार्थीलाई युजटु बनाउँछ, त्यसैले उनीहरु सिक्न लालायित हुन्छन् ।


माध्यमिक शिक्षामा चुनौतीहरु के के हुन ?
सुरुमा ९ देखि १२ एसएसआरपी लागु गर्ने भनिएको थियो । त्यसमा पाठ्यक्रम कस्तो हुने र कसरी जाने भन्ने कुरा दोधारमै छ । अहिले फेरि विद्यालय सुधार कार्यक्रम भने लागु गरेको छ । यसमा प्रष्ट खाका आइसकेको छैन । दोस्रो, एसेसमेन्ट पद्धति तलमाथि गरिराख्दा विद्यार्थीमा प्रतिस्पर्धा पनि के हुने भन्ने अन्योल छ । अर्को विभिन्न पाठ्यक्रमहरु पनि अभ्यास हुँदैं आएका छन् । कस्तो खालको पाठ्यक्रम माथिसम्म लाने, ब्यवहारिक र सैद्धान्तिक पाठ्यक्रमलाई कसरी लैजाने भन्ने कुरा ब्याख्या र डिजाइनिङ प्रष्ट हुनुपर्छ । यो कुरा अहिलेसम्म पनि डिलेमामा नै छ । यसमा सरकारको स्पष्ट पोलिसीको आवश्यकता छ ।

Loading...

 

 

 

धेरै पढिएका समाचार