23 Nov 2019 | शनिबार, ७ मंसिर, २०७६

logo
KCCS
आइतबार, ३० फागुन, २०७२

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति भन्छन्, ‘२० वर्षे रणनीतिक योजना बनाउने काममा तल्लीन छु’

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति भन्छन्, ‘२० वर्षे रणनीतिक योजना बनाउने काममा तल्लीन छु’

देशकै कान्छो विश्वविद्यालय हो– मध्यपश्चिम विश्वविद्यालय । पाँच वर्षअघि मात्र गठन भएको मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. उपेन्द्रप्रसाद कोइराला पाँच महिनाअघि मात्र उपकुलपति नियुक्त भएका हुन् ।

२५ सय विद्यार्थी अध्ययरत यो विश्वविद्यालयममा पाँच वटा विभागहरु छन् । जसमा ह्युम्यानिटिज एण्ड सोसल साइन्स, ब्यवस्थापन, विज्ञान तथा प्रविधी र शिक्षाशास्त्र रहेका । अन्डर ग्राजुयट लेभलमा विश्वविद्यालयले २३ वटा कार्यक्रम चलाइरहेको छ भने ग्राजुयटमा १८ वटा कार्यक्रमहरु छन् । ११४ फुल टाइम टिचरहरु रहेको विश्वविद्यालयमा ४४ जना पार्टटाइम टिचरले काम गरिरहेका छन् ।

यसअअघिका विश्वविद्यालयका उपकुलपतिसहितका उच्च अधिकारीहरु भ्रष्टाचार काण्डमा मुछिएपछि डा. कोइरालाले यो विश्वविद्यालयको नेतृत्व गर्ने अवसर पाएका हुन् । झण्डै चार दशक शिक्षा क्षेत्रमा बिताएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. कोइरालासँग एजुकेशन समाचारले वीरेन्द्रनगरस्थित उनकै कार्यकक्षमा गरेका कुराकानीः


मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति भएर आउनुभएको ५ महिना भयो । केमा ब्यस्त हुनुहुन्छ ?

मूलत यो विश्वविद्यालय अहिले ५ वर्ष पुगेर छैटौं वर्षमा लाग्दैं गरेको बच्चा हो । यसले विश्वविद्यालयको स्वरुप प्राप्त गर्नका लागि जेजति यसका अंगहरु सशक्त र प्रबल हुनुपर्ने हो त्यो हुन बाँकी नै छ । त्यसो भएको हुनाले उपकुलपतिको हैशियतले मेरो मुख्य केन्द्रविन्दु भनेको यसलाई संस्थागत रुपमा विकास गर्नु हो । यसका लागि कर्पोरेट कल्चरको विकास गर्नु जरुरी छ ।

त्यसका लागि कस्ता प्रयासहरु अगाडि बढिरहेका छन् ?

यो विश्वविद्यालयले मूलतः यो क्षेत्रका जनतालाई कसरी गुणस्तरीय शिक्षा दिन सक्छ । कुन कुन क्षेत्रमा गुणस्तरीय शिक्षा दिनुपर्छ र अनुसन्धान र अन्वेषणका कुन कुन क्षेत्रलाई यसले आफ्नो फोकस बनाउनुपर्छ भनेर यस विश्वविद्यालयको २० वर्षे रणनीतिक योजना बनाउने कुरामा तल्लीन छु अहिले । मैले देखेको छु, अनुभव गरेको छु । ३८ वर्ष सकिएर विश्वविद्यालयको पेशामा लागेको ३९ वर्ष हुँदैंछ । अरु विश्वविद्यालयको हेर्छु, एउटा भिसी आउँछ आलु खेती गर्छु भन्छ, अर्को आउँछ सुन्तला खेती गर्छु भन्छ, अर्को आउँछ खुर्सानी खेती गर्छु भन्छ । कुनै पनि पनि खेती हुँदैंन । विश्वविद्यालयको साधन स्रोत बर्बाद हुन्छ । त्यसो भएको हुनाले यस विश्वविद्यालयको २० वर्षे रणनीति योजनामा लागेको छु । यसलाई २० वर्षमा कहाँ पुर्याउने हो । त्यो पुर्याउने सवालमा यहाँका जनता, विद्यार्थी, प्राध्यापक, कर्मचारी, राजनीतिक पार्टीका ब्यक्तित्वहरु, उधोगपति, ब्यापारी समाजसेवी र यो क्षेत्रका सरोकारवालाहरु जस्तै जाजरकोट, दैलेख, बाँके, बर्दिया यी जिल्लाहरुमा पनि गएर हामीले सेमिनार गरेर विचारहरु ल्याएका छौं । त्यसका आधारमा २० वर्षमा यो कहाँ पुग्ने हो र त्यहाँ पुग्नका लागि कुन कुन खुडकिलाहरु चढ्नुपर्ने हो । त्यो खुडकिला भनेको एक्सन प्लान हो । अहिले पाँच वर्षे एक्सन प्लान र २० वर्षे स्टाटेजीक प्लान निर्माणमै हामी केन्द्रीत छौं ।


यो कहिलेसम्म निर्माण भइसक्छ ?

यो बढीमा एक महिनाभित्रमा सकिन्छ । म अहिले यसैमा लागिरहेको छु । जुन २०१६ देखि २०३५ सम्मको हुनेछ । म भिसी भएर आइसकेपछि पहिलो निर्णय नै यो विश्वविद्यालय योजनाबिहीन रुपमा चल्नु हुँदैन भन्ने थियो । योजना बनाउने त्यो योजनाका आधारमा यो विश्वविद्यालयले कुन कुन शैक्षिक कार्यक्रम चलाउने हो । जुन पायो त्यही होइन । कुन क्षेत्रलाई फोकस गर्ने हो । पूर्वाधार विकास कसरी गर्ने, विश्वविद्यालयलाई नेपालका अन्य विश्वविद्यालयहरुभन्दा पृथक पहिचान कसरी दिने र यो विश्वविद्यालयले अहिलेको भूमण्डलीकृत विश्वमा कसरी संसारका अन्य विश्वविद्यालयसम्म सम्बन्ध स्थापना गर्ने भन्ने कुरा यो योजनामा राख्छौं ।
यो योजना नेपाल सरकार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिबाट विमोचन हुन्छ ।


विश्वविद्यालयमा पूर्वाधारको अवस्था कस्तो छ ?

अहिले नेपालकै सबैभन्दा गरिब विश्वविद्यालय हो । जसको कुनै आफ्नो भवन छैन । यी सबै भवनहरु भाडामा छन् । जहाँ हाम्रा शैक्षिक कार्यक्रमहरु चलेका छन् ती भवन पनि अर्को कलेजबाट समायोजित हुँदा आएका हुन । यसको आफ्नै भवन छैन । त्यसैले अहिले हामीले यो रणनीतिक योजनाका अतिरिक्त एकडेमिक प्रोग्रामलाई कसरी ब्यवस्थित र प्रभावकारी बनाउने, सोसाइटीलाई कसरी ओनरसीप फिल गराउने र हाम्रा भौतिक संरचनालाई कसरी विकास गर्ने हो भन्ने विषयमा पनि काम गरिरहेका छौं । मैले विश्वविद्यालयको मूल भवन बनाउनका निम्ति सम्माननीय प्रधानमन्त्री विश्वविद्यालयका कुलपतिज्यूलाई प्रस्ताव पेश गरेको छु । उहाँले हेर्नुभएको छ र कन्भिन्स पनि हुनुहुन्छ । यो विश्वविद्यालयमा केही रहेनछ भनेर उहाँलाई थाहा पाउनुभएको छ, उहाँले आश्वासन पनि दिनुभएको छ । शिलान्यास गर्न आउछु भन्नुभएको छ ।

 

प्रधानमन्त्रीबाट के अपेक्षा राख्नुभएको छ अरु ?

प्रधानमन्त्रीले शिलान्यास गर्न आउदा विश्वविद्यालयले ४ ५ करोड पाउँछ । यसैगरी त्यति नै बेला हामी रणनीतिक योजना विमोचन गराउँछौं । त्यो प्रधानमन्त्रीले विमोचन गर्नु भनेको राज्यले स्वामित्व लिनु हो ।


भनेपछि विश्वविद्यालयलाई कस्तो बनाउने भन्ने खाका बनाइरहनु भएको छ ?


अवश्य पनि । यो ६ नम्बर प्रदेश भनेको नेपालको सबैभन्दा गरिबी प्रदेश हो । आर्थिक सामाजिक, शैक्षिक रुपमा सबैभन्दा पिछडिएको क्षेत्र हो । तर, स्रोतका आधारमा नेपालको सबैभन्दा धनी प्रदेश हो । मैले यहाँका विभिन्न कार्यक्रममा भन्ने गरेको छु, विकासको प्रमुख आधार शिक्षा हो । यहाँबाट सर्टिफिकेट प्राप्त गरेर सडकमा भिख माग्ने विद्यार्थी उत्पादन गर्न चाहन्न । बरु, त्यस्ता कार्यक्रमहरु नै चलाउँदैंनौं । यहाँको आवश्यकता हाइड्रो पावर इन्जिनियरिङ, जडीबुटी प्रशोधन एजुकेशन, पशु विकास, लाइफ साइन्सजस्ता विषय हुन् । यी मैले चार वर्षमा गर्ने होइन । त्यसका लागि खाका बनाउने हो । यो खाका कार्यन्वयनमा ल्याउन सकियो भने आजको १० वर्षपछि मानिसले त्यसको अनुभव गर्नेछ ।


भनेपछि फरक खालको शिक्षाको पक्षमा हुनुहुन्छ ?

अब कर्मकाण्डी शिक्षाको काम छैन । एजुकेशन क्रियटिङ स्केलमा फोकस हुनुपर्छ । सीप विकास गर्ने शिक्षा दिनुपर्छ । यहाँका मान्छेको नेपालका मानिसहरुको प्रतिब्यक्ति आयको आधा आय छ । पहिले विद्यार्थीहरु यहाँ पढ्दैन्थे । सबै बाहिर जान्थे । म आएको पाँच महिना भयो । विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विद्यार्थीले बुझ्या छ, भिसीले साँच्चै एजुकेशन दिने अभियान हिडेको छ भनेर ।


पाँच महिना तपाईं बस्नुभयो । विगत ५ वर्षमा के काम भएको पाउनुभयो ?

विगत ५ वर्षमा यसको दर्दनाक अवस्था हो । उपकुलपति, रजिष्ट्रार, डिनहरु सबैलाई भ्रष्टाचारको मुद्धा लाग्यो । २१ महिना विश्वविद्यालय नेतृत्वबिहीन भयो । अर्कोतर्फ यहाँ ५÷६ वटा भिसी भए । भिसी आफै भिसी, रजिष्ट्रार पनि भिसी, डिन पनि भिसी सबै भिसी । एउटाले भनेको अर्कोले नटेर्ने अवस्था आयो । अब रुल अफ ल मा हिड्ने हो, चेन अफ कमाण्डमा हिड्ने हो । यो विश्वविद्यालय डुब्यो भने माओवादी, कांग्रेस र एमालेलाई दोष दिदैंनन् उपेन्द्र कोइरालालाई दोष दिन्छन् । मैले त्यो बुझ्या छु । त्यसैले कुनै पार्टीले यो गर म गर्दिन्, कुनै पार्टीले यो नगर भनेपनि ठीक छ भने म त्यो गर्छु । किनभने, दोष मैले बोक्नुपर्छ भने जस पनि त मैले बोक्नुपर्यो । हाम्रो देशमा अहिले शिक्षामा जुन राजनीतिक प्रदुषणको अवस्था छ त्यो प्रदुषणको अवस्था हटाउन कसै न कसैले त सुरु गर्नुपर्यो । मैले सुरु गर्ने कोशिश गर्या छु ।


तपाईहरुको विश्वविद्यालयमा पनि तालाबन्दी त भइरहेकै छ ?

म आउनुभन्दा पहिले १८ कि १९ वटा ताला लाग्याथ्यो रे यहाँ । पहिलेको उपकुलपति हुँदा । पछि एक एक गरेर खोले । त्यसपछि एक पटक ताला लागेको छ । मेरो आफ्नै सिद्धान्त छ । म कसैले लगाएको ताला फोर्दिन । ताला फोर्न त चोरको काम हो । म के चाहन्छु भने जसले ताला लगाएको हो उसैले खोल्नुपर्छ । म जहाँ भएपनि भिसी चलाउँछु, अफिसमा चलाउँछु, कोठामा चलाउँछु, चलाउनु न पर्यो नि । अनि देख्छ कि त यसैलाई मार्नुपर्यो नत्र यो तालाको कामै रहेनछ । पाठ सिकाउन जरुरी छ । र, अर्कोतिर विद्यार्थी, कर्मचारीको जायज माग छ भने म त्यसलाई गम्भीर रुपमा आत्मसात गर्छु, कार्यन्वयन गर्छु । उपकुलपतिले कुन ठीक हो कुन बेठीक हो छुट्याउनुपर्छ । रणनीति योजना निर्माणमा पनि हामीले सबै पार्टीलाई समेटेका छौं । उहाँहरुका सुझावहरुलाई राख्छौं । को आएर सुझाव दिनुहुन्छ हुन्न त्यो उहाँको कुरा हो । पोलिटिकल पार्टीहरुले प्रभावमा पार्न खोज्छन्, स्वभाविक हो तर यो विश्वविद्यालय चलाउने मान्छेले सबैलाई समान दूरीमा राख्नुपर्छ ।

 

विदेशका विश्वविद्यालयहरुलाई राजनीतिबाट टाढा राख्न विद्यार्थी काउन्सिलका अवधारणाहरु अगाडि ल्याइएका छन् । यो उपयुक्त अवधारणा हुन सक्छ ?

विद्यार्थीहरु पनि विश्वविद्यालय राम्रो बनोस भन्ने चाहन्छन् । किनभने, यहाँका मान्छेले आधा पेट खाएर यो विश्वविद्यालय बनाएका छन् । तर, यसलाई संस्थागत बनाएर लैजान समय लाग्छ ।


प्राध्यापकहरुको टोली कस्तो छ ?

अति सिनियर प्रोफेसरहरु यहाँ आउन चाहदैंनन् । दुर्गम ठाउँ भन्छन् । उनीहरु काठमाडौंमा रमाउन चाहन्छन्, विदेश जान चाहन्छन् । तर, यहाँ आउन चाहदैनन् । त्यसका बाबजुद पनि सक्षम र बरिष्ठ ब्यक्तिहरुलाई बोलाएको छु । जस्तै एमबीए कार्यक्रमका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टका सिनियर रिडरलाई ल्याएको छु । उहाँ डाइरेक्टर हुनुहुन्छ । अरु तिर पनि ल्याउने काम गरिरहेका छौं । यहाँ अन्य उपलब्ध प्रोफेसरहरु पनि युवा भएपनि सक्षम छन् । थप सिनियर प्रोफेसरहरु ल्याउने कुरा पनि अगाडि बढाइरहेका छौं ।


विदेशी विश्वविद्यालयहरुको सम्बन्ध कसरी विकास गरिरहनुभएको छ ?

साउथ एसियन युनिभर्सिटी, चन्डीगढ युनिभर्सिटी, युनिभर्सिटी अफ फ्लोरिडासँग सम्बन्धहरु अगाडि बढेका छन् । चिनियाँ राजदूतलाई पनि सहकार्यका लागि पत्र लेखिरहेका छौं । त्यसैले होला वेव ¥याङकिङमा पनि नेपालको विश्वविद्यालयहरुमा ४ नम्बरमा पुगेका छौं । चौथोमा आएकोमा खुशी होइन चुनौती थपिएको छ । भिसी भएर आउँदा केही गर्न नसकेपनि ¥याङकिङ सुधारेर पाँच पु¥याउँछु भनेको थिए, तर अहिले नै चौथोमा पुगिसकेका छौं । यसले बढी जिम्मेवारी थपिएको छ । अहिले हामी ट्रयाकमा हिडिरहेका छौं जस्तो लागिरहेको छ । कायापलट गरेर भएको होइन ।


नयाँ भिजन अगाडि बढाइरहनुभएको छ । चुनौतीहरु के के छन् ?

जीवन भनेकै संघर्ष हो । यो मेरो विश्वविद्यालय हो भनेर ओनरसीप फिल गराउनुपर्नेछ । अहिले पनि यहाँका ठूलाबडाका छोराछोरीहरु यो विश्वविद्यालयमा आउँदैनन् बाहिर जान्छन् । जब युनिभर्सिटी कटेर मान्छेहरु गइरहेको देख्छु, मेरो भित्री मनलाई घोच्छ । किन यी विद्यार्थी गए, किन बसेनन् ? ठूलो चुनौती उनीहरुलाई कसरी यहाँ फर्काउन । त्यसका लागि क्वालिटी एजुकेशन दिने हो । क्वालिटी एजुकेशन भन्ने बितिकै क्वालिटी टिचर चाहियो । क्वालिटी टिचर भन्ने बितिकै क्वालिटी ट्रेनिक चाहियो, क्यारियर डेभलपमेण्ट गर्नुप¥यो । हाम्रो भौतिक संरचना पनि जिरो लेभलमा छ । शुन्य तहबाट काम गर्दैछौं । उपकुलपति कार्यलय, डिन कार्यलय, परिक्षा नियन्त्रण कार्यलय सबै भाडामा छन् ।
तेस्रो चुनौती भनेको हाम्रा स्रोतहरुलाई अधिकभन्दा अधिक प्रयोग गर्नका लागि हामी विशेषज्ञ र दक्ष म्यानपावरको अभाव छ । हिजोमात्र युनिभर्सिटी अफ फ्लोरिडाको प्रोफेसरसँग कुरा भयो देआर रेडी । उनीहरु ३ मिलियन डलर इन्भेष्ट गर्न तयार छन् । उनीहरु एक्पोर्ट, काम गर्ने आधारहरु सबै खोजे । हामीसँग दक्ष र विशेषज्ञहरुको अभाव छ । म प्रयास गरिरहेको छु । अर्को चुनौती भनेको साधन स्रोतको पनि कमी छ । जनताहरु लागि परेका छन् । उनीहरु जग्गा दिन तयार छन् । त्यसमा मेडिकल कलेज बनाउने मेरो सपना छ । त्यसका लागि त पैसा चाहिन्छ । पैसा कसरी ल्याउने ? पब्लिक, प्राइभेट अनरसीपमा जाने । अहिले मैले चिनियाँहरुसँग पनि मेडिकल कलेजका विषयमा कुरा गरिरहेको छु । हाइड्रो पावरको विषयमा कोरियन इन्च्युष्ट फर टेक्नोलोजीसँग कुरा भइरहेको छ । उनीहरुले मलाई बोलाइरहेका छन् ।
तर, रिसोर्स र म्यानपावरको कमी भन्दै म थाकेर बस्ने ब्यक्ति होइन । यहीभित्र बसेर के गर्न सकिन्छ म प्रयास गरिरहेको छु ।

 

Loading...

 

 

 

धेरै पढिएका समाचार