19 Oct 2017 | बिहीबार, २ कार्तिक, २०७४

logo
CEDEP
शनिबार, २५ मंसिर, २०७३

तीन कक्षा पढेका आङतेम्बा यसरी बने विश्वविख्यात

 तीन कक्षा पढेका आङतेम्बा यसरी बने विश्वविख्यात

‘कोही धेरै पढेर घमण्डी छ, कोही नपढेर दु:खी छ,’ यो दुवै प्रवृति राम्रो होइन आङतेम्बा शेर्पाको बुझाइ छ, ‘पढाइले सानो र ठूलो हुँदैंन । त्यसैले यसमा भेदभाव हुनुहुँदैन ।’ आङतेम्बाको बुझाइको कारण हुनुपर्छ, सफलताको मुकाम निर्माणमा कहिल्यै पढाइ बाधक नबन्नु । ‘शुन्यबाट ९ सम्म पढिसकेपछि दिमाग त्यसैमा खेलाउने हो,’ उनी भन्छन्, ‘त्यसैले तीन कक्षा नै मेरो पिएचडी हो ।’ आङतेम्बा त्यही पिएचडीको जगमा सफलताको मुकाममा उभिएका पनि । भनिन्छ्, जसले सपना देख्छ र त्यसलाई पछ्याइरहन्छ । त्यो एकदिन देखिएको सपनालाई वास्तविकतामा बदलेरै छाड्छ । आङतेम्बा पनि त्यस्तै मानिसहरु मध्येका एक हुन् । नत्र, कसरी विकट हिमाली जिल्ला सोलुखुम्बुको चौरीखर्क छेप्लुङका आङतेम्बा कसरी विश्वविख्यात मोडल बन्न सक्थे । आर्थिक अभावका कारण कक्षा ३ सम्मको औपचारिक शिक्षा मात्र आर्जन गर्न सकेका उनी कसरी लेखक बन्थे ? कसरी सफल व्यवसायी र विशेषज्ञको परिचय बनाउन सक्थे ।

त्यो त आफ्नो सपना र त्यसलाई पूरा गर्न गरेको कठोर संघर्षको परिणति थियो । ‘यो सब परिश्रम र संघर्षकै प्रतिफल हो,’ सफल व्यवसायीको परिचय समेत बनाइसकेका आङतेम्बा भन्छन्, ‘भरियादेखि विश्वविख्यात नेपाली, अन्तर्राष्ट्रिय पर्वतारोही तथा इन्टरनेशनल उडान विशेषज्ञको परिचय त्यसैको करामत हो ।’ ४६ वर्षीय उनको सफलताको कथा रोचक छ ।
१६ वर्षको उमेरमा खुम्बु क्षेत्रमा पर्यटकको आगमन सुरु भएको थियो । आङतेम्बा पढ्न सकेनन् र कामको खोजीमा विदेशी पर्यटकहरुको भरिया बने । ‘धेरै पढ्नका लागि आर्थिक अभाव थियो । त्यसैले १६ वर्षको उमेरमा नै म पर्यटकहरुको भारी बोक्ने काममा लागे,’ उनले आफ्नो पढ्ने उमेरको फरक कथा सुनाए । ट्ेरकिङ दुनियामा उनी पोर्टर गाइडका रुपमा छिरेका थिए, त्यतिबेला । जतिबेला उनी पोर्टर गाइड थिए । कसैले अनुमान गरेको थिएन्, उनी लेखक बन्नेछन् र नेपालमा पर्यटकका लागि चर्चित पुस्तकहरु लेख्नेछन् । तर, उनी पोर्टरबाट अपग्रेड भए । माउन्टेन गाइड बन्ने उनको बाटो खुल्यो । विदेशीहरुसँगको सहकार्य र मित्रताले उनलाई सफलताको बाटोतिर डोर्‍याउन सुरु गर्‍यो । पहिले उनी स्वीजरल्यान्डमा ६ महिना गएर टेनिङ लिए । त्यसपछि क्रमस: त्यहाँ जादैं र नेपाल फर्कदैं गर्न थाले । ‘मैले त्यसपछि साउथ अफ्रिका र यूरोपबाट माउण्टेन गाइड प्रशिक्षणमा डिप्लोमा गरे,’ जसले उनलाई लेखक बन्ने बाटो खोलिदियो । त्यसपछि स्वीटरजरल्यान्डमा एउटा हिमाल आरोहरण सम्बन्धि सामानहरु बिक्री गर्ने पसलमा उनले काम पाए । त्यसपछि उनको सफलताको यात्राले नयाँ मोड लिन थाल्यो । कामका बाबजुद उनी उडान सम्बन्धि कक्षाहरु समेत लिन थाले ।

आङतेम्बा डिप्लोमा गरेपछि त्यसै चुप बसिरहन सक्दैनन् थे । त्यसैले उनले नयाँ सम्भावनाहरुको खोजी गरे । नेपाली पर्यटनबारे किताब लेख्ने । ‘विदेशीको सहयोग मागेर नेपालको पर्यटन, कला, संस्कृति, रितिरिवाज, धार्मिक तथा साँस्कृति धरोहरका विषयमा किताब लेखे,’ उनले आफ्नो पहिलो किताबको अनुभव सुनाए, जो उनले विदेशीसँगको सह–लेखनमा तयार पारेका थिए । जसले विदेशीमा उनलाई चर्चित बनायो । धेरै देशहरुमा नेपालको पर्यटनबारेमा लेखिएको त्यो पुस्तक चर्चित समेत बन्यो । उनले पर्यटनका बारेमा निकै खोज समेत गरे । जसको परिणामस्वरुप सन् १९९० मा जर्मनबाट ‘स्टेप वाइ स्टेप इन नेपाल’ भन्ने पुस्तक प्रकाशित भयो । लगतै ‘ट्रेकिङ गाइड इन नेपाल’ भन्ने पुस्तक जर्मन भाषामा अनुवादित भएर प्रकाशित भयो । जसले आङतेम्बाको उचाइँमा अर्को इट्टा थप्यो । ‘टोनी हेगनजस्ता चर्चित लेखकहरुले मेरो प्रशंशा गरे,’ उनले आफ्नो लेखनले कमाएको ग्ल्यामर सुनाए, ‘नेपाललाई विदेशमा चिनाउने पहिला लेखकले मेरो प्रशंशा गरेपछि खुशीको सिमा रहेन ।’ उनका किताबहरु यूरोपमा ब्यापक बने । त्यसले उनलाई विदेशमा सम्बन्ध स्थापित गर्न सहज बन्यो । आङतेम्बालाई थाहा थियो, यतिले मात्र केही हुँदैंन । उनी थप सम्भावनाहरुको खोजीमा लागे । जसमा उनका किताबहरुले खोलिदिएको परिचयको फराकिलो बाटो आवश्यक थियो । उनले त्यसैलाई प्रयोग गर्ने अठोट गरे ।

‘सम्बन्धलाई सही रुपमा प्रयोग गरेर बेनिफिट लिन सक्नुपर्छ,’ उनले आफ्नो व्यवसायी उडानको किताबले लेखनले खोलेको सम्बन्धको बाटोबारे भने, ‘लेखकका रुपमा बनेको राम्रो कुटनीतिक सम्बन्धलाई व्यवसायीक क्षेत्रमा प्रयोग गरे ।’ जसले उनको व्यवसायमा पनि धेरै सहयोग पुर्‍यायो । उनले पर्यटन व्यवसायमा व्यवसायीका रुपमा पहिलो पाइला बढाए । अहिले उनको त्यही पर्यटन व्यवसाय संसारभर फैलिएको छ, अमेरिकादेखि यूरोपसम्म, अर्जेन्टिनादेखि चिली र अफ्रिकासम्म । जसमार्फत उनले नेपाली पर्यटन बजारलाई पनि फराकिलो बनाउने प्रयास गरिरहेका छन् । ‘मैले अफ्रिका, उत्तर अमेरिका र यूरोपबाट अझ धेरै पर्यटकहरु तान्ने प्रयास गरिरहेको छु,’ उनी भन्छन्, ‘यसले मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।’

आङतेम्बालाई पर्यटन व्यवसायले थप व्यवसायका सम्भावनामाझ परिचित गरायो । त्यसैले उनले पर्यटनसँगसँगै हस्पिटालिटी क्षेत्रमा पनि हात हाल्ने निर्णय गरे । जुन निर्णय प्रतिफल स्वरुप सन् १९८५ मा सोलुखुम्बको चौरीखर्कमा उनको पहिलो लज खुल्यो, पुमारी लज । जसलाई उनले अहिले आधुनिक स्वरुपमा ढाल्दै हिलिङ सेन्टरमा रुपान्तरण गरेका छन् । पुमारी लजमा मात्र उनको मन अडिरहन सकेन्, उनले आफ्नो हस्पिटालिटी व्यवसायको विस्तार गरे । त्यसपछि, पोखरामा होटल नेचुरल ल्यान्ड र काठमाडौंको चुच्चेपाटीमा हिमचितुवा होटल खोले । रोचक त के छ भने उनका यी तारे होटलको व्यवस्थापनमा नेपालीका अलावा विदेशीहरु पनि उतिकै छन् । ‘विदेशी गोराहरु नै होटलको व्यवस्थापन हेरिरहेका छन्,’ उनी भन्छन्, ‘यसले पर्यटन व्यवसायमा विदेशी आगमन बढाउन सहयोग गरिरहेको छ ।’ एभिया क्बलको म्यानेजिङ डाइरेक्टर पनि छन्, आङतेम्बा ।

उनले ट्ेरकिङ व्यवसायको फैलावटलाई अझ संसारभर विस्तार गर्ने योजना बनाएका छन् । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई विश्वका कुना–कुनासम्म पुर्‍याउने उनको अभियान अझै जारी छ । अहिले उनको इन्टरनेशनल एडभेन्चर ट्राभल अमेरिका, एसिया र यूरोपसम्म विस्तार भएको छ । ‘यूरोपमा स्वीटजरल्यान्ड, अष्ट्रिया, इटाली जर्मनीमा शाखा छ । अमेरिकाको बोष्टन, फलोरिडा, क्यालिफोर्नियालगायतका क्षेत्रमा पनि शाखाहरु छन्,’ उनी भन्छन्, ‘अब यसलाई अझै धेरै ठाउँमा विस्तार गर्ने मेरो प्रयास जारी छ ।’

आङतेम्बा उडान विशेषज्ञका रुपमा पनि कहलिएका ब्यक्तिमा पर्छन् । हेलिकप्टर तालिम र उडान सम्बन्धि कम्पनी अविय क्लब नेपालका निर्देशक छन् । यसैगरी, विश्व उडान संघका सदस्य पनि हुन्, उनी । जहाज निर्माण र उडान सम्बन्धमा पनि उनी विशेष दख्खल राख्ने नेपालीमा गनिन्छन् ।

एक छोरा एक छोरीका बुवा आङतेम्बा अहिले नेपालमा बैक क्षेत्रमा पनि लगानी गरिरहेका छन् । जनता बैकका उनी संस्थापक शेयरधनी हुन् । ‘मैले कलकारखाना र उद्योगहरु विकासका लागि बैक क्षेत्रमा लगानी गरेको हुँ,’ उनी भन्छन्, ‘यसको मुख्य उद्देश्य नेपालमा रोजगारी बढाउने हो ।’ यसका विभिन्न स्कुल तथा वातावरण संरक्षण र प्रबद्र्धनका क्षेत्रमा पनि उनको सक्रियता उतिकै छन् । विश्वव्यापी वातावरण प्रभावले ल्याएका समस्याहरुसँग लडन उनले वातावरण संरक्षण गर्ने अभियानमा पनि सहयोग गर्दैछन् । ‘१४ अञ्चल र ७५ जिल्लामा हामी वनस्पति संरक्षण गर्ने, बृक्षारोपण गर्ने, बन विनास रोक्ने, कार्यमा सक्रिय छौं,’ उनी भन्छन्, ‘जसको उद्देश्य ग्लोबल वार्मिङ विरुद्ध लड्ने र कार्बन अक्साइड ग्याँस रोक्ने हो ।’ जसमा उनको संस्था सोलुखुम्बु हर्बल गार्डेन नेपालले काम गरिरहेको छ । यसैगरी उनको अर्को प्रोजेक्ट जेट रोपा मार्फत तराईमा वातावरण जोगाउने र रुखबाट ग्याँस निकाल्ने योजना समेत अगाडि बढिरहेको छ ।

आङतेम्बाको परिचय यतिमा मात्र सिमित छैन्, किनभने, यो उनको लेखक र व्यवसायीको परिचय मात्र हो । उनले उड्ययन सम्बन्धि प्रशिक्षण पनि लिएका छन्, स्वीटरजरल्याण्ड, अष्ट्रिया र फ्रान्सबाट । अहिले पोखराको साराङकोटमा चलिरहेको प्यारा ग्लाइडिङ उडानको पहिलो चित्र बनाउने ब्यक्ति पनि आङतेम्बा नै थिए । ‘मैले नै साराङकोटमा प्याराग्लाइडिङ उडानबारे पहिलोपल्ट किटान गरेको थिए । तर, मन्त्रालय र स्थानीय वासिन्दाको विरोधका कारण त्यतिबेला त्यो अगाडि बढ्न सकेन्,’ उनले सुनाए ।

उनी विश्वबिख्यात खेलाडी पनि हुन् । उनी सन् २००३ मा चेक गणतन्त्रमा भएको रक क्लाइबिङमा च्याम्पियन बने । सन् १९८९ मा इटालीको मेरिटेनीमा भएको स्वीमिङ प्रतियोगिताका पनि उनी च्याम्पियन बने । उनी विश्वबिख्यात ग्लाइडर पनि हुन् । सन् १९९५ र सन् १९९५ मा क्रमस: स्वीटरजरल्यान्ड र फ्रान्समा भएको प्याराग्लाइडिङमा पनि उनी च्याम्पियन बने । त्यसले उनको अर्को परिचय थप्यो । उनी विश्वविख्यात मोडल पनि बने । उनलाई विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र कम्पनीहरुले आफ्नो ब्रान्ड एम्बेसडर बनाएका छन् भने विश्वका केही चर्चित कम्पनीहरुको प्रोडक्टका लागि उनले मोडलिङ समेत गरेका छन् । स्वीस घडिको विज्ञापनबाट यूरोप पुगेर मोडलिङ गर्ने उनी पहिलो एसियाली व्यक्ति थिए । आउबुरी नामक विश्वविख्यात स्वीस घडि कम्पनीबाट उत्पादित राडो, रोलेक्सजस्ता घडिको विज्ञापनमा देखिएपछि उनको चर्चा संसारभरि भएको छ । उनले डकुमेन्ट्री निर्माणमा पनि हात हालेका छन् । क्रियटिभ ह्यान्डस अफ एभरेष्ट नामक चलचित्र निर्माण कम्पनी समेत खोलेका छन् उनले ।

आङतेम्बा बहुप्रतिभाशाली व्यक्ति हुन् । त्यसैले त उनले जेमा हात हालेका छन्, त्यसमा सफल पनि भएका छन् । आम मानिसहरुका लागि उनको प्रगतिको यो सगरमाथा दुर्लभ हो । किनभने, आङतेम्बाजस्तो मल्टिपल क्षमता सायदै निकै कममा होला । तर, उनी नेपाल र नेपालीका लागि ठूलै प्रेरणाको स्रोत हुन् । किनभने, गरिब परिवारमा जन्मेर उनले जे हासिल गरे त्यो अदभूत छ । अझ उनले शैक्षिक योग्यताले पनि उनको सफलतातर्फको यात्रालाई कहिल्यै छेक्न सकेन् । त्यसैले आम नेपालीका लागि उनको विश्वविख्यात छवि एउटा जिउँदो प्रेरणा हो । परिश्रम र संघर्षको पथबाट प्राप्त शान, सौगत, धन सम्पत्ति, मान प्रतिष्ठाको धरहरामा चढेर सफलताको मुकामको नेतृत्व गर्दा पनि आङतेम्बा सरल छन् । सहज छन् । यो उनको प्रगतिपथको सबैभन्दा ठूलो अनुशासन हो । उनलाई न धनी भएकोमा घमण्ड छ । न विश्वविख्यात भएको दम्भ नै । ‘मन ठूलो हुन जरुरी छ । मानिसले विचारले अर्बपति हुनुपर्छ । धनले होइन्,’ उनी भन्छन्, ‘म आफूलाई धनी भन्न रुचाउँदिन । म त मात्र प्लेमेकर हुँ ।’ आङतेम्बा निकै व्यस्त दैनिकीका बाबजुद सामाजिक कामहरुमा पनि उतिकै सक्रिय छन् । त्यसैले त उनको विचार छ, ‘सबै मानिस एउटै हो । रगत सबैको रातै हुन्छ । ठूलो सानो देखाउने, फूर्ति लगाउने भन्दा राम्रो काम गर्नतिर अगाडि बढ्नुपर्छ ।’ अनि भन्न, मन लाग्यो, क्याबात आङतेम्बा ।

 

 

 

 

 

 

 

 

 

 

Loading...

  

 

 

धेरै पढिएका समाचार