17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
आइतबार, २६ आषाढ, २०७३

टीएल चौधरी : शिक्षकदेखि नाइटिङगेलको ‘ब्राण्ड मेकर्स'सम्म

टीएल चौधरी : शिक्षकदेखि नाइटिङगेलको ‘ब्राण्ड मेकर्स'सम्म

सप्तरी जिल्लाको कल्याणपुर गाविस–८ भदैयामा सामान्य किसान परिवारमा जन्मिएका हुन्, सांसद तथा शिक्षा ब्यवसायी टीएल चौधरी । उनका हजुरबुवा ससुरालीमा घर ज्वाइँ बसेका थिए । ससुरालीमा घर ज्वाइँ बस्दाखेरि सानो घर र सानो जग्गाका दिने चलन थियो । जुन उनका हजुरबुवाले पनि पाएका थिए ।

त्यस्तो परिवारमा बुवा सत्तोन चौधरी र आमा नैनवत्ती चौधरीको कोखबाट टीएल को जन्म भएको हो । ५३ वर्षअघि तराईको सामान्य किसान परिवारमा जन्मिएका टीएलको सफलता आधुनिक पुस्ताका लागि निकै प्रेरणादायी छ ।

सामान्य किसान परिवार जन्मिएकाले टीएलका अगाडि पनि थुप्रै समस्या र अभावहरु थिए । ‘बाल्यकाल धेरै दुःखका साथ बित्यो,’ हालैको एक मध्यान्ह एजुकेशन समाचारको लामो कुराकानीमा उनले बाल्यकालको सम्झनाको डायरी पल्टाउन थाले, ‘त्यति खुशी र रमाइलोसँग बित्न पाएन ।’ अहिले सम्झदा टीएल गाउँमा अभावहरुसँग जुध्न नसकेर बीचैमा स्कुल छोड्न बाध्य आफ्ना बालसखाहरुको तुलनामा आफूलाई भाग्यमानी ठान्छन् ।

‘बाल्यकालमा स्कुलमा जब फिस लागु भयो,’ उनले सुनाए, ‘१ रुपैयाँ तिर्न नसकेर मेरा कयौं साथीहरु स्कुल छाड्न बाध्य भए ।’ तर, टिएलका हकमा भने त्यो लागु भएन । उनले स्कुल छाड्न परेन् । त्यसैले त उनी आफ्नो बाल्यकाललाई अरुको भन्दा सुखद् मान्छन् ।

उनले प्रारम्भिक शिक्षाको पाइला थारु समुदायमा सञ्चालन गरिने टेक्सारबाट सुरु गरे । ‘गाउँभरिका १०÷१५ जना जम्मा गर्ने र एक ठाउँमा गुरुले पढ्न चलन थियो उतिबेला,’ उनी सम्झन्छन्, ‘जसलाई हामीले टेक्सार भन्छौं । त्यहीबाट मैले पढ्न सुरु गरे ।’

त्यसपछि उनको प्रावि, निम्नमाविस्तरको शिक्षा लालपट्टी जनता निमावि अगाडि बढ्यो । टीएल पढाइका एभरेज विद्यार्थी थिए भने खेलकूदमा निकै फुर्तिला । त्यसमा पनि उनी भलिबलका त खास खेलाडी थिए । भलिबल खेलाडी भएर उनले स्कुल, हाइस्कुल, जिल्ला, क्षेत्रमा मात्र होइनन्, राष्ट्रिय खेलाडी भएर पनि खेले । ‘म सगरमाथा अञ्चलबाट राष्ट्रिय खेलकूदमा प्रतिनिधित्व गर्थे,’ उनले भने, ‘फुटबल र एथ्लेटिक्समा जिल्लाबाट अञ्चलसम्म प्रतिनिधित्व गर्थे ।’

उनले हाइस्कुल शिक्षा पशुपति मावि लहानबाट पूरा गरे । ‘म वि.सं. २०३५ सालको एलएलसी ब्याच हो,’ उनले भने, ‘मैले सेकेण्ड डिभिजनमा एसएलसी पास गरे ।’

हरेकका सपनाका आ–आफ्नै सगरमाथाहरु हुन्छन् । टीएलको पनि बाल्यकालमा सपनाको आफ्नै सगरमाथा थियो । त्यसैले उनी पुलिसको पोशाकमा सगरमाथाको टाकुरामा पुगेर विजयको मुस्कान मुस्कुराउन चाहन्थे । ‘मलाई त्यतिखेर पुलिसमा जाने रहर थियो,’ आफ्नो बाल्यकालको सपनाबारे उनले भने, ‘पुलिसको खुब शान थियो, चिटिक्क परेर हिड्ने । त्यसैले मेरो पनि पुलिस बन्ने सपना थियो ।’

एसएलसी पास भइसकेपछि साथीहरुको लहैलहमा लागेर टिएल पनि काठमाडौं झरे । ‘त्यतिखेर नम्बरका आधारमा ओभरसियर, इन्जिनियर पढ्न पाउने चलन रहेछ,’ उनले काठमाडौंमा उतिबेलाको पढाइको कथा सुनाउन थाले, ‘फष्ट डिभिजनलाई मात्र त्यो अवसर रहेछ ।’ टिएलले सानोठिमीको शिक्षा क्याम्पसमा पढ्न सुरु गरे । उनी काठमाडौं पस्दा २०३६ सालमा विभिन्न आन्दोलन र बन्द हडतालहरु पनि चलिरहेका थिए ।

त्यतिबेला काठमाडौं पस्दा अहिलेकाजस्ता बस्तीहरु थिएनन् । उनले काठमाडौं पसेपछि पनि निकै समय भलिबल खेले । काठमाडौं पसे लगतै उनका लागि संघर्षका दिनहरु सुरु भएका थिए । उनी ट्युशन पढाउने, स्कुल पढाउने त्यसबाट आएको पैसाबाट आफ्नो पढाइ अगाडि बढाउन थाले । ‘जागिर खादैं, पढ्दैं र टयुशन पढाउँदैं मैले माष्टर्स गरे,’ उनले भने, ‘घरबाट सुरु–सुरुमा केही पैसा पाए तर त्यसपछि माष्टरी गर्दै ट्युशन पढाउँदै मैले पढाइ पूरा गरे ।’ कालान्तरमा उनले पिपुल्स र नेपाल कमर्स क्याम्पस मीनभवनबाट पनि आफ्नो शिक्षा अगाडि बढाए ।


टीएलले मीनभवबाट फाइनान्समा एमबीए गरेका छन् । उनले पिपुल्स कलेजबाट बीकम गरे भने ताहाचलबाट बिएड पूरा गरे ।

त्यसबीचमा टीएलले कयौं पटक आफ्नो ड्रिम जब पुलिसका लागि पनि अप्लाइ गरे । आर्मीका हुन पनि प्रयास गरे । तर, उनी झण्डै ५ वर्ष प्रयास गर्दा पनि दुवैमा सफल हुन सकेनन् । पुलिस बन्ने सपना साँचेर काठमाडौं भित्रिएको एउटा ठिटोले त्यसमा सफल हुन नसकेपछि लोकसेवा समेत लडे । तर, लोकसेवाको अन्तर्वार्तामा सफल हुन सकेनन्, उनी । यसबाहेक उनले समन्वय परिषद, पौष्टिक आहार, समाजकल्याण परिषदका परीक्षाहरु पनि दिए । तर, यी सबैमा उनले अपेक्षित सफलता हासिल गर्न सकेनन् । एक पटकको असफलताबाट हरेश खानेहरुका लागि टीएल प्रेरणाका स्रोत हुन् । किनभने, पुलिस, नेपाली सेना र लोकसेवामा पटक–पटक ब्यहोर्नु परेको असफलताका बाबजुद पनि उनले संघर्ष गर्न छाड्नेन् ।

‘अरुतिर केही नलागेपछि अन्ततः शिक्षक सेवा आयोग दिए,’ उनले भने, ‘शिक्षक सेवा आयोग पास भएँ । माविको स्थायी शिक्षक भएँ ।’ उनी २०४२ सालमा ललितपुरको त्रिपद माविमा स्थायी शिक्षक भए ।

‘शिक्षक भएपनि मेरो चाहना पुलिसमा जाने थियो । धेरै चोटि प्रयास गरे । लिखित पनि पास गरे । तर, सफलता कहिल्यै पनि हात लागेन,’ उनले भने, ‘मेरो चाहना पुलिस थियो । तर, भाग्यले शिक्षकतिर डो¥यायो ।

टीएल जे बन्न चाहन्थे, त्यो बन्न सकेनन् । तर, उनी जे बन्न चाहदैन्थे त्यही भए । तर, उनले आफूले नचाहेको बाटोमा हिडेर पनि सफलता हात पारे । जो हरेक सपनाजीविहरुका लागि प्रेरणा हुन सक्छ ।


नाइटिङगेलसँगको यात्रा

उनले ललितपुरका बुङमतीको आदर्श मावि, पाटन हाइस्कुल र त्रिपद गरी तीन वटा स्कुलमा जागिर खाए । यसबाहेक उनले ललितपुरको भट्टेडाडामा पनि झण्डै एक महिनाजति अध्यापन गराए । टीएलको विषयमाथिको कमाण्ड र कन्ट्रोलिङ पनि गज्जबको थियो ।

‘नेपाली बाहेक सबै विषयहरु पढाए,’ उनले भने, ‘आइएस्सी पनि गरेको थिएँ, म्याथ पनि राम्रो थियो । अंग्रेजी पनि पढाउन सक्थे ।’ यसबाहेक उनी अतिरिक्त क्रियाकलापका पनि उतिकै क्रियाशील थिए । यति हुँदाहुँदै पनि टीएल शिक्षकको जागिरबाट खुशी भने थिएनन् ।

‘सधैभरि माष्टरी गर्ने मेरो रुची थिएन,’ उनले भने, ‘पुल्चोकमा हाम्रो कोचिङ क्लासमा पनि काम गर्थे ।’ यति नै बेला उनको दरबन्दी काठमाडौं राखेर पहाड सरुवा गरियो । त्यसपछि उनले दुई वर्ष जागिरबाट बिदा लिएर नेपाल लेप्रोसी ट्रष्टमा काम गरे । जसले कुष्टरोग सम्बन्धी कामहरु गर्छ । उनले त्यसमा विजनेश म्यानेजरका रुपमा झण्डै दुई वर्ष जागिर गरे । त्यही रहेका बेला उनी फ्लोरेन्स नाइटिङगेलको जीवनबाट निकै प्रभावित भए ।

२०४६ सालतिर उनले गुहेश्वरी प्रावि स्कुलमा लगानी गरेर मावि बनाए । जुन अहिले पनि थापाथलीको प्रस्तुती गृह नजिकै छ । आन्दोलनका क्रममा केही साथीलाई मिस ब्यवहार भएपछि उनले त्यो स्कुल नै छाडिदिए ।

त्यसपछि फ्लोरेन्स नाइटिङगेलको समाजसेवाबाट प्रभावित टीएल नयाँ स्कुल उनकै नाममा खोलिदिए–नाइटिङगेल स्कुल । ‘२०४९ सालमा मैले नाइटिङगेल स्कुल स्थापना गरे,’ उनले नेपालकै एक ठूलो मानिने शैक्षिक संस्था स्थापनाबारे भने, ‘स्कुलमा एकै पटक १ कक्षादेखि ९ कक्षासम्मै पढाउन सुरु गरियो ।’

टीएलले झण्डै डेढ लाखबाट लगानीमा एकल प्रयासबाट जम्मा ३०÷४० विद्यार्थीबाट सुरु गरेका हुन्, नाइटिङगेल स्कुल । ‘कुपण्डोलको यही ठाउँमा ३०÷४० जना विद्यार्थीलाई लिएर मैले नाइटिङगेल सुरु गरेको हुँ,’ आफ्नो कार्यकक्षमा गफिदैं उनले भने, ‘१ देखि ९ सम्म पढाउने अनि १०–११ जना स्टाफ थिए ।’


आखिर यो सफलताको यात्रालाई कसरी सम्झन्छन् टीएल । भन्छन्, ‘सुरुवाती समय निकै दुःखदायी थियो । धेरै संघर्षपूर्ण ।’

टीएल मावि र प्रोजेक्टको जागिर छाडेर आफै केही गर्न तम्सिएका थिए । त्यसैले उनका लागि दुःख र संघर्ष गलाउने विषय थिएनन् । ‘एक जोर जुत्ता फेर्न पनि निकै हम्मे–हम्मे थियो,’ उनले सुनाए, ‘भौतिक पूर्वाधारदेखि हरेक कुरामा दुर्दशा थियो । तर, मैले हिम्मत हारिन् ।’ त्यतिबेला उनलाई हौसला दिने केही शिक्षक अझै नाइटिङगेलमा जागिर गरिरहेकै छन् ।

तराईंको र त्यसमा पनि थारु परिवारबाट आएकाले धेरै मान्छेले सुरुवाती समयमा उनले सञ्चालन गरेको स्कुललाई विश्वास पनि गरेनन् । ‘काठमाडौंकाले त विश्वास गरेकै थिएनन्, तराईंबाट आएकाले पनि आफ्ना बच्चाहरुलाई नाइटिङगेल पठाउन मानेनन्,’ उनले भने । उनले अरु स्कुलका फेल, विग्रेका केटाकेटीहरुलाई जम्मा गरेर राम्रो बनाउने प्रयास थाले ।

ती बच्चाहरुमाथिको टीएलको निगरानी र मेहनेत खेर गएन् । नाइटिङगेलको लगातार दुई ब्याचको एसएलसी रिजल्ट राम्रो भयो । जसले नाइटिङगेलमाथिको अभिभावकको विश्वासलाई ह्वातै बढाइदियो । केही वर्षमै नाइटिङगेलका विद्यार्थीहरुको नाम एसएलसी बोर्डमा चम्किन थाल्यो । त्यसपछि त नाइटिङगेल स्कुलका लागि सबै कुरा बदलियो ।
त्यो रिजल्टले नाइटिङगेल हाइलाइट मात्र भएन्, सफलताको सिढीमा उक्लन थाल्यो । त्यसैले त झण्डै २५ वर्षको यो अवधिमा समय मात्र बदलिएको छैन्, नाइटिङगेल सफलताको यात्रा पनि नयाँ उचाइमा पुगेको छ । अहिले नाइटिङगेलमा झण्डै २ सय ५० बढी कर्मचारी कार्यरत छन् । नाइटिङगेल स्कुलमा मात्र झण्डै २५ सय विद्यार्थीले पढिरहेका छन् । यसबाहेक तीएलले प्लस टु र नर्सिङ क्याम्पस पनि नाइटिङगेलकै नाममा चलाएका छन् । जसमा झण्डै ५ सय बढी विद्यार्थी अध्ययन गर्छन् ।

यो सफलताको सुत्राधार के हो ? ‘शिक्षा क्षेत्रमा सफलता पाउनुमा टिम स्प्रीट, अभिभावकको विश्वास जित्नु, लिडरको खुबी र भिजन, मेहनेत तथा सकारात्मक सोच हो,’ उनले नाइटिङगेल सफल हुनुको कारण खोले, ‘सबै कुरा राम्रोसँग मिलाउन सकियो भने २ वर्षमै स्कुलले पिकअप लिन सक्छ ।’

एउटा सामान्य परिवार आएर राजधानीमा अग्रणी शैक्षिक संस्था हाँकिरहेका टीएलको सपना के होला ? ‘मेरो सपना तराईंमा राम्रो स्कुल र कलेज खोल्ने हो,’ उनले भने, ‘काठमाडौंमा जस्ता राम्रा शैक्षिक संस्था तराईंमा छैनन् ।’

 

राजनीतिक यात्रा 


सानोठिमीको शिक्षा क्याम्पसदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीतिमा आवद्ध भएका हुन्, टिएल । जसरी उनको शैक्षिक ब्यवसायीको उचाइ आकाशिएको छ, त्यसैगरी राजनीतिक रुपमा पनि उनले एउटा हाइट निर्माण गरिसकेका छन् ।

शिक्षक युनियनको जिल्ला सदस्य, केन्द्रीय प्रतिनिधी भए । प्याब्सनमा उनी ललितपुरको जिल्लाको उपाध्यक्ष भए । हिसानको उनी केन्द्रीय सदस्य भए ।

२०५२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका चौधरी २०६४ मा महाधिवेशन प्रतिनिधी जिते । उनले नेपाली कांग्रेसबाट दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फबाट सभासदमा चुनाव जिते । अहिले उनी मिनी संसदका रुपमा चिनिने संसदको महिला, बालबालिका तथा शिक्षा कल्याण समितिमा पनि छन् ।

विभिन्न सामाजिक संघसंस्थाको सल्लाहकार समेत रहेका चौधरीले आफ्नो जिल्ला र क्षेत्रमा एसएलसीमा उत्कृष्ट नतिजा ल्याएका हरेक दुई जना विद्यार्थी छात्रवृतिलाई दिदैं आएका छन् ।

Loading...

 

  

 

 

धेरै पढिएका समाचार