17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
सोमबार, २३ भदौ, २०७६

हिलारी स्कुलमा मोती जयन्ती विशेष अन्तरविद्यालय गजल वाचन कार्यक्रम सम्पन्न

हिलारी स्कुलमा मोती जयन्ती विशेष अन्तरविद्यालय गजल वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । चाबहिलस्थित हिलारी स्कुलमा १५४औँ मोती जयन्तीको उपलक्ष्यमा हिलारी स्कुल तथा अनाममण्डलीको संयुक्त आयोजनामा हिलारी काव्य उत्सव ‘‘मोती जयन्ती विशेष अन्तरविद्यालय गजल वाचन” प्रतियोगिता वरिष्ठ कवि, समालोचक, साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लोक साहित्य विभाग प्रमुख डा. देवी नेपालको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
१७ विद्यालयका २७ विद्यार्थीको सहभागितामा सम्पन्न उक्त कार्यक्रम को सभापतित्व विद्यालयका अध्यक्ष दीपक शर्माले गरेका थिए। कार्यक्रमको सुरुवात सभापतिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी भएको थियो। विद्यालयका सिइयो कैलाश कुमार कार्कीले स्वागत मन्तव्य राख्दै यस किसिमका कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढ्नुका साथै नेपाली भाषाप्रतिको सद्भाव बढ्ने पनि उल्लेख गरे। हिलारीको साहित्यिक दायरा फराकिलो पार्ने जमर्को सहित यो कार्यक्रमको आयोजना गरिएको जिकिर गर्दै कार्कीले आगामी दिनमा पनि यस्ता साहित्यिक गतिविधिहरु बढाइरहने बताए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा निर्देशक मोहन न्यौपाने, प्रधानाध्यपक शंकर पौडेल तथा अन्य कवि गजलकारहरु अर्जुन अन्योल, ज्ञानु बिद्रोही, केशब भट्टराई, रुपक अलङ्कार आदिको पनि उपस्थिति रहेको थियो ।

गजल वाचनको निर्णायकको भूमिकामा युवा गजलकार, कवि तथा अनाममण्डलीका अध्यक्ष रुपक अलङ्कार र अर्का सशक्त युवा कवि, गजलकार केशव भट्टराई थिए । विशुद्ध वाचन मात्रको प्रतियोगिता रहेकाले वाचनलाई सुक्ष्म ढंगले नियालेर निर्णय गरिएको पनि उनीहरुले बताए। कार्यक्रमको उद्घोषण विद्यालयकै नेपाली शिक्षक तथा कार्यक्रम संयोजक परशुराम भट्टराईले गरेका थिए ।

प्रतियोगितामा प्रथम सृष्टि चित्रकार (सरस्वती स्कुल), द्वितीय दीक्षा राई विजेश्वरी सैनिक महाविद्यालय, तृतीय झरना खनाल (एम्बिसन एकेडेमी) र सान्त्वना तारा लामा (मोक्षदा स्कुल) लाई ट्रफीसहित पदक तथा प्रमाण पत्र वितरण गरिएको थियो।

प्रतियोगीहरुले यति सानो उमेरमा यसरी गजल वाचन गरेको सुन्दा निकै उत्साहित भएको बताउँदै प्रमुख अतिथि डा. नेपालले हिलारीले राम्रो अवसर जुटाइदिएको भन्दै कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गरेको बताए। आफ्ना केही गजल सुनाउँदै उनले विद्यार्थीलाई हौसला प्रदान गर्ने अनेकौँ प्रसँग समेत राख्दै नेपाली भाषाको महत्व र यसको सर्वव्यापकताको बारेमा पनि चर्चा गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेल, निर्णायक अलङ्कार तथा अधिकारी र उद्घोषक भट्टराईले पनि गजल वाचन गरेका थिए।

अन्त्यमा कार्यक्रमको औचित्य माथि प्रकास पार्दै यस्ता खालका कार्यक्रमले नयाँ पुस्तामा साहित्य प्रतिको आदर र सम्मान ज्युँदै राख्ने र हिलारीले यो कार्यक्रमको निरन्तरता दिने वचनवद्धता व्यक्त गर्दै सभापति तथा विद्यालयका अध्यक्ष दीपक शर्माले विद्यालयले साहित्यिक कार्यक्रम राखेको र एकदमै सभ्य र शालीन रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गरे।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार