17 Dec 2017 | आइतबार, २ पुष, २०७४

logo
CEDEP
शुक्रबार, २० असोज, २०७४

विद्यालयका लागि रु एक करोड संकलन

विद्यालयका लागि रु एक करोड संकलन

 

म्याग्दी-म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रु एक करोड जुटाएका छन् ।


मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियानमार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रु एक करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए ।

२०७३ वैशाख ६ गतेदेखि शुरु भएको अभियानको २०७४ असोज १७ गते विशेष समारोहको आयोजना गरी समापन गरिएको थियो । स्थानीयवासी, विश्वका विभिन्न देश र नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने देवीस्थान बासी, पूर्व विद्यार्थी, छिमेकी गाउँका बासिन्दा र म्याग्देलीबाट सो सहयोग जुटेको हो ।


सो रकम खर्च कटाएर अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राविधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मूल संयोजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनले बताए ।

‘देवीस्थानवासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित अभियानमा देवीस्थान घर भई हाल काठमाडौँ निवासी बेलायती गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन जीतबहादुर घर्तीले सबैभन्दा बढी रु २० लाख सहयोग गरेका छन् । 

देवीस्थान समाज, काठमाडौँले समेत अभियान सफल बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ । रु दश हजारभन्दा बढी सहयोग गर्नेको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने भएको छ । अभियानको समापन गरिए पनि शिलालेख स्थापना नहुँदासम्म इच्छुकले चन्दा दिन सक्ने विद्यालयले जनाएको छ ।


हाल कक्षा दशसम्मको पठनपाठन हुने सो विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत छन् । देवीस्थानका विद्यार्थी एसइई तह उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न गाउँ छाडेर दरवाङ, ताकम, सदरमुकाम बेनी र जिल्ला बाहिर जाने गरेका छन् । गाउँमै उच्च शिक्षाको व्यवस्था भएमा गरिब, विपन्न समुदायका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ ।

रासस

Loading...

 

  

 

 

धेरै पढिएका समाचार