17 Sep 2019 | मंगलबार, ३१ भदौ, २०७६

logo
KCCS
मंगलबार, २४ भदौ, २०७६

सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन

सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन

जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको एक सामुदायिक वनले सञ्चालन गरेको छ । शिक्षा क्षेत्रलाई अहिले समुदायस्तरबाट निकै महत्वका साथ लिने गरिएको छ । सामुदायिक वनले शिक्षा क्षेत्रमा शिक्षक र भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ ।

फुर्केसल्ला सामुदायिक वनले पाँच जना शिक्षकको तलबमा सहयोग गरेको छ । सामुदायिक वनले शिक्षकलाई तलब सहयोग गरेपछि विद्यालय सञ्चालन गर्न ठूलो सहयोग भएको विद्यालयका प्रधानाध्यापक वासुदेव यादवले बताउनुभयो । सामुदायिक वनले मासिक रु ८५ हजार शिक्षकको तलबमा सहयोग गरेको छ, जसमा रु १५ हजार तलबमा तीन शिक्षक र रु २० हजार तलबमा अन्य दुई शिक्षकलाई सहयोग पाइएको उहाँले जानकारी दिनुभयो ।

प्रावि दरबन्दी रहेको सो विद्यालयमा प्रावि शिक्षक चार र एक जना राहत दरबन्दी छ । शिक्षा विकास समन्वय एकाइले भने एक जना माध्यमिक शिक्षक सहयोग गरेको र अन्य शिक्षकको सामुदायिक वन उपभोक्ता समितिले सहयोग गरेको विद्यालयले जनाएको छ । सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बोहराले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकताका साथ लगानी गरिएको बताउनुभयो । उहाँले सामुदायिक वनले शिक्षामा गरेको लगानीले गाउँमै माध्यमिक विद्यालय सञ्चालन भएर सजिलो भएको बताउनुभयो ।

फुकेसल्लाबाहेक जुम्लाका धेरै सामुदायिक वनले शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छन् । यहाँको गाडापानी सामुदायिक वनले रु ७० हजार बराबरको काठ विद्यालयमा निःशुल्क भवन बनाउन सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष गोकर्ण चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका सामुुदायिक वनले प्रायगरी शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएका छन् ।

आम्दानी बढ्दो

यहाँका केही सामुदायिक वनको आम्दानी भने बढिरहेको छ । जिल्लाका २०१ सामुदायिक वन उपभोक्ता समितिमध्ये चार वटा सामुदायिक वनको आम्दानी निकै राम्रो भएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका चार वटा वन फुर्केसल्ला, तल्फी पातारासी, लम्तेलीे, बागजाले र भलेनी सामुदायिक वनले वार्षिक रु पाँचदेखि रु २५ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

Loading...

 

 

 

 

धेरै पढिएका समाचार